नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानलाई महत्वपुर्ण रुपमा स्वीकार गरीन्छ । समग्र नेपाली जनताको रोजगारीको दुई तिहाई हिस्सा ओगटेको कृषि अन्तर्गत पशुपालन क्षेत्रले दुध, अण्डा र मासुको आपुर्तिको माध्यमबाट जनतालाई स्वस्थ, निरोगी बन्न भूमिका खेलेकोमा शंका छैन । तथापी पशुपालन क्षेत्रले पाउनु पर्ने बजेट, कार्यक्रम र प्राथमिकता अझै ओझेलमा परेको यथार्थ हो । बागमती प्रदेशका आठ वटा पशु सेवा कार्यालय मध्ये रसुवा र नुवाकोटलाई कार्यक्षेत्र बनाएर नुवाकोटमा मुख्य केन्द्र रहेको यस पशु सेवा कार्यालयले विगत आ.व. 2०७५/७६ देखि बागमती प्रदेश सरकार अन्तर्गत नयाँ संगठन संरचनाबाट कार्य संचालन गरिरहेको छ ।
विशेषत: वि.सं. 2019 सालमा स्थापना भएको (साविक पशु चिकित्सालयको नामबाट) यस विज्ञ केन्द्रले विभिन्न कालमा नाम, संगठन र संरचना फेरबदल भए पनि भेटेरिनरी सेवा उपलब्ध गराउने पशु अस्पतालमा पशु चिकित्सा र पशु विकास शाखा मार्फत घाँसका बीउ बेर्ना र उन्नत जातका साँढे र वि.सं. 2035 पछि पशुमा कृत्रिम गर्भाधान सेवा दिने आदि कार्यबाट चर्चित " भेटेरिनरी अस्पताल " आज पर्यन्त सुधारिएको नाममा " भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र " हुदै हाल पशु सेवा कार्यालय ,नुवाकोट को नाममा स्थापना भई कृषकहरुमा सेवा दिईरहेको छ ।

